बसाइँसराइले पार्ने असरबारे अध्ययन आवश्यक : विज्ञ
काठमाण्डाै – बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे वृहत् अध्ययन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालय नेपालको सहकार्यमा त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरूले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्राध्यापक डाक्टर कुसुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिनुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या अहिले नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताउनुभयो । उहाँले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी झन्डै ४४ लाख जना नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिनुभयो ।
जनसङ्ख्या विभागका प्रमुख डा. योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो ।







