उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न,

२०८२ कार्तिक ११ गते, मंगलवार

कात्तिक शुक्ल चतुर्थीदेखि सुरू भएको सूर्य उपासना पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। भक्तजनहरूले नदी, पोखरी तथा जलाशयका किनारमा भेला भई सूर्यदेवको आराधना गर्दै दूध, जल र पुष्प अर्पण गरी पूजा सम्पन्न गरेका हुन्।
धार्मिक परम्पराअनुसार, अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य अर्पण गरी व्रतालुहरूले चार दिनसम्मको कठिन व्रत पूरा गर्छन्। आज सप्तमीका दिन सूर्योदयको समयमा भक्तहरू लुगासहित पानीमा डुबेर सूर्यको दर्शन गर्ने र परिवार तथा समाजको कल्याणका लागि प्रार्थना गर्ने चलन रहिआएको छ।
सूर्य र जललाई जीवनका मूल आधारका रूपमा सम्मान गर्ने यस पर्वमा नदीलाई माता र सूर्यलाई शक्तिको स्रोतका रूपमा पूजा गर्ने गरिन्छ। छठ पर्वको अवसरमा तराई–मधेसदेखि काठमाडौं उपत्यका र देशभरका नदीघाटहरू आकर्षक रूपमा सजाइएका छन्।
हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरूले आज बिहानको अर्घ्यसँगै पूजा सम्पन्न गरे। छठको मुख्य दिन देशभर सार्वजनिक बिदा दिइएको थियो भने मधेस प्रदेशमा आज पनि बिदा दिइएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon