अपाङ्गता भएका बालबालिकाको उपचार गर्दै नगरपालिका

२०७९ माघ २५ गते, बुधबार

जाजरकोट, २५ माघ (रासस) :

आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ । पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा अस्पतालमा उपचार सुरु गर्न लागिएको नगरप्रमुख डम्बरबहादुर रावतले जानकारी दिनुभयो ।

दोस्रो चरणमा पालिकाभित्रका सबै शारीरिक अशक्त तथा असहाय बालबालिकालाई दल्लीमा शिविर सञ्चालन गरेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ उपचार सम्भव नभएकालाई बाहिर उपचार गरिने छ । “अहिले नगरपालिकाभित्रका सबै वडामा शारीरिक अशक्त तथा असहाय बालबालिकाको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो । वडाध्यक्षलगायत अन्य सरोकारवाला निकायको पहलमा खोजी गरी फागुन १४ मा शिविर सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएको छ ।

नगरप्रमुख रावतले भन्नुभयो, “दल्लीमा उपचार सम्भव नभएकालाई बाहिर लगेर पूर्ण रुपमा उपचार गर्ने योजना अनुरुप काम भइरहेको छ ।” पहिलो चरणमा उपचार गर्नेको प्रदेशस्थित अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र वीरेन्द्रनगर सुर्खेतबाट सिफारिस गरी बनेपा अस्पतालमा लगिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाको यो अभियानले आर्थिक रुपमा पछि परी वषौँदेखि उपचार नपाएका बालबालिका तथा अभिभावक खुसी भएका छन् । यसअघि नगरपालिकाले आर्थिक कमजोर भएका परिवारलाई जटिल प्रकृतिको रोग लागेमा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।

नगरपालिकाको पहलमा अहिले पालिकास्तरमै आँखाको उपचार सेवा समेत सुरु भएको छ । आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै आँखाको जाँच गरी सेवा लिइरहेका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon