गोलन्जोरको रानीखोला नयाँ गाउँमा घरघरमा खानेपानी, ५४ घरधुरी लाभान्वित,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ स्थित रानीखोला नयाँ गाउँमा खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको खानेपानी आयोजनाको आज (बिहीबार) उद्घाटन गरिएको हाे । आयोजना सञ्चालनमा आएसँगै गाउँका ५४ घरधुरीमा घरघरमै खानेपानीको सुविधा पुगेको छ।
गोलन्जोर गाउँपालिकाको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत गाउँपालिका र ब्याक टु लाइफको सहयोगमा आयोजना निर्माण गरिएको हो। कुल ६५ लाख ५ हजार ७ सय ५९ रुपैयाँ लागतमा सम्पन्योजनाको गाउँपालिका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
गाउँपालिकाका अनुसार आयोजनाअन्तर्गत ६० घनमिटर क्षमताको एउटा आरभिटी, एउटा इन्टेक तथा ९ किलोमिटर पाइपलाइन निर्माण गरी घरघरमा खानेपानी पुर्याइएको छ। आयोजनाबाट रानीखोला नयाँ गाउँका ५४ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
उद्घाटन कार्यक्रममा अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँहरूले खानेपानीसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास र नागरिकलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
खानेपानी आयोजना उद्घाटन कार्यक्रममा गोलन्जोर गाउँपालिका–३ का वडाध्यक्ष केपी पोखरेललगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई खानेपानीको जोहो गर्न टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै दैनिक उपभोगका लागि सहज हुने अपेक्षा गरिएको छ।![]()







