राजनीतिक दल र राजसंस्था सहकार्य गरौं -पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् ।
प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै उनले मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् ।
‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन’ पूर्वराजाले विज्ञप्तिमा भनेका छन् ।
बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको भन्दै पूर्वराजाले मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने बताएका छन् ।
‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं’ उनले भने ।
पूर्वराजा शाहले पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्ट्राचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको बताएका छन् ।
राज्य सत्ताको बागडोर जजसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।
हेर्नुहोस् पूर्वराजाको वक्तव्य







