रामेछाप बजारमा पनि सडक मर्मतको काम सुरु हुदै ।

२०८० आश्विन ४ गते, बिहीबार

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको सडक मर्मतको काम सुरु भइरहेको छ । रामेछापकाे माथिल्लो बजारदेखी तल्लो बजारसम्मको करिब १ किलो मिटर सडक मर्मतको काम सुरु भैरहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो ।

साँघुटार,सेलेघा, सडक आयोजन अन्तर्गत पिच हुनुपर्ने सडक आयोजनाले समयमै काम नसक्दा रामेछाप बजार अस्तव्यस्त भइरहेको छ । सडक अस्तव्यस्त र अव्यवस्थित भएको भन्दै रामेछाप नगरपालिकाले आयोजनालाई सडक मर्मत गर्न निर्देशन दिएको हो ।

मंगलबार रामेछाप नगरपालिकाको कार्यालयमा प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ्ग कान्छाराम,नगरपालिकाका जनप्रतिनिधी,सडक आयोजना कम्पनीका ठेकेदारहरुको बैठक बसेकाे थियोे । बैठकमा नगरपालिकाले एक हप्ता भित्र सडक मर्मत गर्न निर्देशन दिएको हो ।

अहिले भत्केको पिच सडक स्काइभेटर लगाएर सम्याउने काम भैरहेको छ । १ हप्ता भित्रमा सडक ग्राभेल गर्ने काम सम्पन्न हुने सडक आयोजनाको स्थानिय ठेकेदारहरुले बताएका छन । दशैँ, तिहार नजिकिदै गर्दा सवारी साधनहरुको चाप बढने भएकाले सहज रुपमा सवारी आवागमनका लागी सडक ग्राभेल गर्न नगरपालिकाले निर्देशन दिएको हो ।

भारतीय एक्जिम बैंकमार्फत निर्माण हुँदै आएको रामेछाप सेलेघाट,साँघुटार कालोपत्रे सडकको जिम्मा भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको थियो । रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक निर्माणको काम भैरहेको छ ।

सन २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रमा सक्नुपर्ने गरी सम्झौता भएको हो । तर अहिले फेरी १७ महिना म्याद थप गरेर सडक आयोजनाले सडक निर्माणको काम गरिरहेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon