काठमाडौंबाट रामेछापको मन्थली आउँदै गरेको ईलेक्ट्रोनिक गाडी दुर्घटना,एकको मृत्यु
बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । बुधबार(आज) बिहान ६ : ४५ बजे काठमाडौंबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका– १२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहान ७ः३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त दुर्घटनामा ईलेक्ट्रोनिक गाडीमा सवार मन्थली नगरपालिका–१ की पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका– ६ का टंकप्रसाद दाहाल, मन्थली नगरपालिका– २ की ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ की रकिट ढुंगेल, लिखु तामाकोसी गाउँपालिका– ६ का अनिल आलेमगर, सिन्धुली सुनकोसी गाउँपालिका –३ की उर्मिला घिमिरे पनि घाइते भएका छन्।
मोटरसाइकल चालक ईलाम थाकथुम गाउँपालिका –३ का ४० वर्षीय रामकुमार राईको ढाडमा चोट लागेको र उहाँका श्रीमती ३९ वर्षीया प्रविशा सुनुवारको देब्रे खुट्टामा चोट लागेको छ । उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने ईलेक्ट्रोनिक गाडीका चालक काभ्रे पनौती नगरपालिका –५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ।







