चन्द्रागिरी नगरपालिकाले दश प्रकारका आयुर्वेदिक जडीबुटीको उद्यान एवम् प्रशोशन केन्द्र निर्माण गर्ने
काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवम् प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषधालयलाई १५ शय्यामा स्तरोन्नति गरिसकेको नगरपालिकाले आयुर्वेदिक जडीबुटीको उद्यान एवम् प्रशोधन केन्द्र निर्माण गर्ने भएको हो ।
नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जाे, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवम् प्रवर्द्धन गर्न लागेको हो। यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ ।
चन्द्रागिरिका १५ सामुदायिक वनमध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सर्वेक्षणमा समेटिएका थिए । ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा वन क्षेत्रका सात सय १३ हेक्टरमध्ये एक सयदेखि एक सय ५० हेक्टरमा जडीबुटी पाइएको थियो । सर्वेक्षणले वर्षमा कम्तीमा ३५ लाख बराबरको जडीबुटी सङ्कलन गर्न सकिने, यदि ती जडीबुटी सङ्कलन नगर पनि बिरुवा मरेर नजाने, कुहिएर जाने तथा कुनै क्षति नपुर्याउने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।







