मच्छिन्द्रलाई हराउँदै त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको सेमिफाइनलमा
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको तेस्रो क्वार्टरफाइनलमा आर्मीले मच्छिन्द्रलाई २–१ गोलले हरायो । खेलको ११ औँ मिनेटमै गोल गर्दै मच्छिन्द्रले अग्रता लिए पनि दोस्रो हाफमा २ गोल खायो ।
प्रतियोगितामा भोलि अन्तिम क्वार्टरफाइनल खेलमा झापा–११ फुटबल क्लब र एन्फा मकवानपुरबीच खेल हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल पर्सि शुक्रवार र दोस्रो सेमिफाइनल शनिवार हुनेछ । चर्च ब्वाइज युनाइटेड क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । फाइनल खेल आउँदो सोमवार हुनेछ ।
१० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।







