अपर राहुघाट जलविद्युत् आयोजना निर्माणकाे काम अन्तिम चरणमा

२०८१ कार्तिक १५ गते, बिहीबार

म्याग्दी– राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणकाे काम अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युतगृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युतगृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । आउँदो असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो ।

तुँदी पावरले राहुघाटमै अर्को ३७ दशमलव ५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिसाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो ।

दुईवटै आयोजना निर्माणमा १३ अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने अनुमान छ । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon