रामेछाप नगरपालिकाका सबै वडामा एकैदिन बालमैत्री घोषणा हुने तयारी अन्तिम चरणमा,
रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका भित्रका सबै ९ वटै वडामा यही जेठ २७ गते बालमैत्री वडा घोषणा गरिने भएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयनको क्रममा निर्धारित सबै सूचकहरू पूरा भइसकेको र जिल्ला समन्वय समितिबाट आवश्यक अनुगमनसमेत सम्पन्न भएकाले एकैदिन सामूहिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो।
नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत सहायक महिला विकास निरीक्षक सरिता बुढाथोकीका अनुसार वडास्तरीय घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। उहाँका अनुसार कार्यक्रम स्थलहरूमा स्वागत गेट निर्माणदेखि अन्य व्यवस्थापनका कामहरू लगभग पूरा भइसकेका छन्।
बुढाथोकीले बताउनुभयो, “२०७९ असोज २६ गतेदेखि सबै वडाले बालमैत्री स्थानीय शासनको मार्गदर्शन अनुसार काम गर्दै आएका छन्। बाल अधिकारसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा, सरसफाइ लगायतका आधारभूत सूचकहरूमा आवश्यक सुधार गर्दै ५१ सूचकहरु मध्य २८ वटा तहगत खुड्किला,५ वटा तहगत चरणहरु पर्दछन ।
जिल्ला समन्वय समितिबाट गरिएका अनुगमनले सबै वडाहरू घोषणा योग्य रहेको पुष्टि गरिसकेको छ। वडास्तरमा घोषणा भइसकेपछि सम्पूर्ण विवरण प्रदेश सरकार—वागतीलाई पठाइनेछ। त्यसपछि औपचारिक अनुमोदनको प्रक्रिया पुरा भएपछि नगरपालिकालाई नै बालमैत्री नगरपालिका घोषणा गरिने प्रक्रिया अघि बढाइने छ।
स्थानीय तहमा बालमैत्री वातावरण निर्माण गर्दै बालबालिकाको हकअधिकारको संरक्षणमा जोड दिन बालमैत्री घोषणा महत्त्वपूर्ण मानिएको छ।







