गाेलन्जाेर दुई मा पच्चीस वटा आरसिसि पाेखरी निर्माण,
![]()
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. २ मा यस आर्थिक वर्षमा कुल १० वटा आरसिसि सिंचाई पोखरी निर्माण सम्पन्न भएका छन्। प्रत्येक पोखरीको क्षमता २० हजार लिटर बराबरको छ, र निर्माण कार्य किसानहरूको सक्रिय लागत सहभागितामा सम्पन्न भएको हो।
यी पोखरीहरू खासगरी खेर गइरहेको प्राकृतिक धाराको पानी र वर्षा समयमा बग्ने पानी संकलन गर्न बनाइएको हो। यसरी संकलित पानीलाई पाखो तथा सिंचाईविहीन जमिनमा तरकारी खेतीको लागि प्रयोग गर्न थालिएको छ।
गाेलन्जाेर गाउँपालिका वडा २ का अध्यक्ष दौलत कार्कीका अनुसार, गत आर्थिक वर्षमा पनि १५ वटा आरसिसि पोखरी निर्माण गरिएका थिए। याे वर्ष थप १०वटा पोखरी निर्माणसँगै कुल पोखरीको संख्या २५ पुगेको छ।
कृषिमा यस्ता साना पूर्वाधार विकासले दीर्घकालीन रुपमा सिंचाईको दिगोपन, जल स्रोतको संरक्षण, र आयमूलक कृषि प्रणालीको प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। किसानहरूको माग र स्थानीय स्रोतलाई ध्यानमा राखी पोखरी निर्माण गरिएको हाे । याे कार्यक्रम गोलन्जोर गाउँपालिकाको कृषि क्षेत्र सुधार योजना अन्तर्गत संचालन गरिएको हो।







