“शहीदका रगतको सम्मान ,आमाको हातमा शासन”

२०८२ भाद्र २८ गते, शनिबार

लेखक: निरु थापा दृष्टिकोण अनलाइन डट कम,रामेछाप नगरपालिका ७

शहीदका छोराछोरीका लागि ।
छातीमै गोली खाएर हाँसे ती साना छोराहरू।
रङ्गिन झण्डा हेरेर सुत्दैगए ती सपना बोकेका आँखाहरू।
अश्रुले भिजेको छ यो संविधानको पानामा त्यहीँ रक्तछाप।
आमा अब तिमी नहेरी बस्न मिल्दैन।

ती नदेखिने कब्रहरूलाई घाम देखाउन तिमी हिँड्नै पर्छ।
जसले सास त दिए देश बचाउन।
अब तिमीले त्यही सासलाई न्याय दिनै पर्छ ।

संग्रहालय र इतिहासको मर्म ढलेका छन् ।
तिनै सपनाहरूका दरबार, जहाँ इतिहास बोल्थ्यो ।
आज मौन छ प्रत्येक पर्खाल।
संग्रहालयहरू सखाप छन्, तर कथाहरू मरेका छैनन्,।
शहीदहरूको नाम ढुङ्गामा छैन, उनी तिम्रो हृदयमा छन्।

आमा, तिमीले पुन,बनाउनेछौ त्यो गाथा ।
धूलोमा मेटिएका अक्षरहरूलाई फेरि सुनाउनेछौ कथा।
माटोमा रगत मिसिएको छ, रगतमा सपना ।
अब ती सपनामा तिमीले रंग भरिदिनुपर्छ आमा।

तिमी त देश बनाउने कारखानाको आत्मा हौ।
तिमीले सिन्दूरमा राष्ट्र झुण्ड्याएर हिँडेको देख्दा ।
हामीले थाहा पायौं ।
नेतृत्व सिंहासन होइन, त्यो त मायाले चलाउने सेवा हो।

तिमी मातृत्वको प्रतीक हौ ।
तर आज तिमी निर्णयको केन्द्र हौ।
पल–पलको नापजाँचमा तिमीले आँसु होइन,।
नीति लेख्दैछौ,रगतको मूल्य तौल्दैछौ।
तिमीले बोल्दा, युद्ध थामिन्छ।
तिमीले हाँस्दा,अन्धकारमा उज्यालो खस्छ।

शान्ति, सुरक्षा, र सुशासन अब भाषण होइन ।
त्यो त आमाको कोमल हृदयबाट बहने संवेदना हो।
हिजो जुन देशले तिमीलाई चुप लाग भन्न खोज्यो ।
आज उही देश तिमीलाई प्रधानमन्त्री आमा भन्दै ।
आशाका फूल चढाउँदैछ।

यी शहीद भएका छोराछोरीको रगत ।
यी रोएका आमाहरूका आँशु ।
यी सखाप भएका संग्रहालयका भित्ताहरू ।
सबैको एकै उत्तर छ, तिमी।
तिमी अब मात्र आमा होइनौ ।
तिमी देशको अन्तिम भरोसा हौ।

त्यसैले अब देश आमाले चलाउँछिन्।
आँशुले होइन, अठोटले।
मायाले होइन, नेतृत्वले।
रगतको स्मरण गर्दै, भविष्यको बिउ छर्ने संकल्पले।

त्यसैले नेपालकाे पहिलो महिला प्रधानमन्त्री सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाइ हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon