सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,
रामेछाप।
रामेछापको सुनापति गाउँपालिकामा आज(आइतबार)देखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाउने भएका छन्। खेलाडीबीच भलिबल, कबड्डी, सटफुट, दौड, ज्याभलिन थ्रोलगायतका विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।
उद्घाटन कार्यक्रममा अध्यक्ष तामाङले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भन्दै प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने रामेछाप जिल्लाका ८ वटा स्थानीय तहहरूमध्ये सुनापति गाउँपालिका पहिलो बनेको छ।







