गोलन्जोर गाउँपालिकामा वडा–स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुँदै,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडा–स्तरीय सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम आयोजना गर्ने भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका विकास तथा सेवा प्रवाह सम्बन्धी गतिविधिहरूको समीक्षा गर्दै नागरिकका गुनासा, सुझाव र धारणा संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो।
गाउँपालिकाका अनुसार पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत सुदृढीकरण, सेवा प्रवाह र सुशासनजस्ता विभिन्न विषयमा केन्द्रित भई कार्यक्रम सञ्चालन गरिनेछ।
सार्वजनिक सुनुवाईमार्फत स्थानीय सरकारको कामकारबाहीप्रति नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकको सहभागिता रहनेछ। सहभागीहरूले सेवा प्रवाहसम्बन्धी अनुभव, समस्या, गुनासा तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा सुझाव राख्न सक्नेछन्।
गाउँपालिकाको आयोजनामा तथा माइशिर मिडिया प्रालि को सहजीकरणमा सञ्चालन हुने उक्त कार्यक्रम विभिन्न वडा कार्यालयमा तय गरिएको मिति, समय र स्थानमा क्रमशः आयोजना गरिने जानकारी दिइएको छ।
गाउँपालिकाले सबै सरोकारवालालाई तोकिएको समयमा उपस्थित भई आफ्ना धारणा राख्न आग्रह गर्दै स्थानीय शासनलाई अझ प्रभावकारी, उत्तरदायी र पारदर्शी बनाउन सहयोग गर्न अनुरोध गरेको छ।







