भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

२०८० कार्तिक १८ गते, शनिबार

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको हो । साथै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।

बिहान कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकप्टर जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ । भूकम्पमा परि घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परि घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारीमा अवस्थामा राखिएको छ । अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ ।

व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि फोकल पर्सनका रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ । घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

हेलिकप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको छ । अस्पतालहरुमा रगतको मौज्दात रहेको र रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भूकम्पमा परि घाइते भएका आठबिसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान उपचारका लागि उनीहरुलाई सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठबिसकोट नगरपालिका पुगेको हेलिकप्टरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।  घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon