बाग्लुङको सुतुर्केमा ‘डम्पिङ साइट’ भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित
बाग्लुङ – बाग्लुङको बाग्लुङ नगरपालिका सुतुर्केमा ‘डम्पिङ साइट’ भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ ।
नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको ‘डम्पिङ साइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।
अव्यवस्थित फोहोर व्यवस्थापनबाट दैनिक गुड्ने सयौँ गाडी र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङ साइट’ को असर नजिकैको प्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ ।
अव्यवस्थित फोहोर व्यवस्थापनका कारण यात्रा गर्न सकस हुने गरेको चालक देवीबहादुर सुनारले बताउनुभयो । गर्मी मौसममा अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुने उहाँको भनाइ छ ।
नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ‘ल्यान्डफिल साइट’ बनाउने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बाग्लुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ ।
फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित ‘डम्पिङ साइट’ बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकेको नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठको भनाइ छ ।







