सहकारी क्षेत्रमा नीति संवाद सम्पन्न, नवनिर्वाचित समितिलाई बधाई,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा आज (बुधबार)जिल्ला सहकारी संघ लि. द्वारा आयोजित “सहकारी क्षेत्रमा परिवर्तित ऐन, कानुन, नीति, निर्देशन, मापदण्ड तथा वर्तमान अवस्थामा सहकारी सञ्चालकहरूको भूमिका” विषयक एक दिवसीय नीति संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री नवराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तान प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष श्री विमला माझी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रमुख अतिथि श्री विमर्श मुक्तानले सहकारी क्षेत्रलाई स्थानीय आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै बदलिँदो ऐन, कानुन र नीतिसँग सहकारीहरू समयअनुसार अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सहकारी संस्थाहरू पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित हुनुपर्नेमा जोड दिँदै सुशासन र विश्वास कायम राख्न सञ्चालकहरूको भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो।![]()
त्यसैगरी, मरिण गाउँपालिकाका उद्यम विकास तथा सहकारी व्यवस्थापन शाखाका प्रमुख श्री पवन सुवेदी विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा सहकारी क्षेत्रमा हाल भइरहेका कानुनी, नीतिगत तथा व्यवस्थापकीय परिवर्तनबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले वर्तमान अवस्थामा सहकारी सञ्चालकहरूको भूमिका थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू समेत प्रस्तुत गरेका थिए।
यसै अवसरमा मरिण सहकारी समितिको नवनिर्वाचित ९ सदस्यीय समिति गठन भएकोमा संयोजक श्री मान बहादुर भुजेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।![]()







