हिरासतमा युवक मृत्यु प्रकरणः छानबिनका लागि प्रहरी प्रधान कार्यालयद्वारा समिति गठन,

२०८३ बैशाख १२ गते, शनिबार

सिन्धुली ।

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको मृत्यु भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले प्र.ना.म.नि. दिनेश कुमार आचार्य को संयोजकत्वमा समिति गठन गर्दै ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।

मृतक श्रीकृष्ण बिक सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय युवक हुन्। जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालत सिन्धुली बाट ७ दिनको म्याद थप गरी उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो।

प्रहरीका अनुसार वैशाख ७ गते साँझ करिब ५:५९ बजे हिरासत कक्षभित्र रहेको शौचालयमा उनले आफ्नो सर्ट प्रयोग गरी झुण्डिएको अवस्थामा फेला परेका थिए। तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि हिरासतभित्र भएको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन र आवश्यक अनुसन्धान अघि बढाउन प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो। समितिले घटनाको कारण, परिस्थिती र सम्भावित कमजोरीबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon