आइतबार पनि खुल्ने भए गोकुलगंगा गाउँपालिकाका कार्यालय र विद्यालय,
![]()
रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाले आइतबारसमेत गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था (विद्यालय) तथा स्वास्थ्य संस्थाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको मिति २०८३/०१/१५ गतेको निर्णयअनुसार २०८३/०१/१६ गतेदेखि उक्त व्यवस्था लागू हुने जनाइएको छ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार अब आइतबार पनि अन्य कार्यदिनसरह कार्यालय तथा विद्यालयहरू सञ्चालन हुनेछन्। कार्यालयहरू बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म, विद्यालयहरू बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म तथा शुक्रबार बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ।
गाउँपालिकाले यो निर्णयका पछाडि शैक्षिक क्षति न्यूनीकरण, भौगोलिक अवस्थाका कारण इन्धन बचतको सीमित प्रभाव, स्वास्थ्य सेवाको संवेदनशीलता तथा जनसेवा प्रवाहलाई छिटो–छरितो र प्रभावकारी बनाउने उद्देश्य रहेको जनाएको छ।
सूचनामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको तोकिएको वार्षिक पाठ्यघण्टा (Credit Hours) पूरा नहुने र शैक्षिक गुणस्तरमा असर पर्ने देखिएको उल्लेख गरिएको छ। साथै दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थाहरू बन्द हुँदा उपचार सेवा प्रभावित हुने र सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्थालाई समेत ध्यान दिइएको जनाइएको छ।
गाउँपालिकाले निर्णयको पूर्ण पालना गरी कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई सहयोग गर्न अनुरोध गरेको छ। यो निर्णयसँगै गोकुलगंगा गाउँपालिका सातामा दुई दिन बिदा प्रणाली पुनरावलोकन गर्दै नियमित सेवा प्रवाहतर्फ फर्किएको देखिएको छ।







