नयाँ बसपार्कबाट २ दिनमा झन्डै ४० हजार टिकट बुकिङ
सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
सरकारले विजयादशमी, दीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यति बेला सङ्घीय राजधानी काठमाण्डौमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरू घर जानका लागि टिकट काट्न नयाँ बसपार्कमा जम्मा भएका छन् ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झन्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ वटा टिकट बुकिङ भइसकेको छ ।
असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोशी, मधेस र बाग्मती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय वटा टिकट बुकिङ भएको छ ।
यस्तै असोज २३ गते कोशी, मधेस र बाग्मती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेशका लागि पाँच सय, लुम्बिनी प्रदेशका लागि सात हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशका लागि चार हजार दुई सय वटा टिकट बुकिङ भएको छ ।
सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक गाडीको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ ।
लामो समयदेखि काठमाण्डौदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आउनुभएका बर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउनुहुन्छ । ‘विभिन्न ठाउँमा बाटो बिग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पुर्याउन सकिँदैन’, उहाँले भन्नुभयो ।
काठमाण्डौदेखि दाङसम्म गाडी चलाउँदै आउनुभएका घोराहीका चेतनाथ भट्ट पनि पानीको कारण बाटो खाल्डाखुल्डी हुँदा आउजाउमा समस्या भएको बताउनुहुन्छ । ‘बाटो राम्रो भए यात्रुलाई ओसार्न समस्या हुँदैन, बाटो राम्रो नहुँदा बस चलाउन समस्या भएको छ’, उहाँले भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दशैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । राजमार्ग बिग्रिएका कारण काठमाण्डौ आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन’, उहाँले भन्नुभयो । सरकारले दशैँका लागि देशका सबै क्षेत्रको यातायातका लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।
असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ देखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
यो बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमी काठमाण्डौतर्फको सडक गाडी सञ्चालन गर्न सहज हुने हिसाबले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा यातायात व्यवसायीको सहकार्यमा २४ वटा टिकट बुकिङ काउन्टर थप गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले बताउनुभयो । सङ्घीय राजधानी काठमाण्डौबाट दशैँ मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
उपत्यकामा सुरक्षा योजना
दशैँको समयमा हुने आपराधिक घटनालाई रोक्नका लागि प्रहरीले नयाँ बसपार्क क्षेत्रमा छुट्टै सुरक्षा योजना बनाएर लागू समेत गरिसकेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक दिनेश गुरुङले बसपार्कमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताउनुहुन्छ ।
प्रहरीले दुई दिनमा नयाँ बसपार्कभित्र आपराधिक क्रियाकलापमा संलग्न पाकेटमार, हुलहुज्जत गर्ने, ठगी, लुटपाटलगायतका घटनामा सङ्लग्न १७ जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ । त्यस्तै प्रहरीले बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ड्रोन, वडीवान, गोप्रो क्यामराबाट समेत सुक्ष्म अनुगमन गर्नेछ । दशैँमा सुरक्षाका लागि नयाँ बसपार्कमा थप प्रहरी जनशक्तिसमेत तैनाथ गरिसकिएको छ ।
यस्तै ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भन्नू भयो यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको छ। ‘अहिले उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, आवश्यक परेमा अन्य स्थानमा समेत थप गर्न सकिन्छ







