नेपाल सरकारको सचिव भएयता प्राय नेपाली जुत्ता नै प्रयोग गर्ने गरेको छु : मुख्यसचिव अर्याल

२०८० पुष ७ गते, शनिबार

काठमाण्डाै – मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आमउपभोक्तालाई आग्रह गर्नुभएको छ । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आमउपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने उहाँको भनाइ थियो ।

शनिवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्ता नै प्रयोग गर्ने गरेको उल्लेख गर्दै आमउपभोक्ताले पनि त्यसरी नै प्रयोगमा ल्याए स्वदेशी उद्योगको पनि प्रवर्द्धन हुने बताउनुभयो । उहाँले नेपाली वस्तु उत्पादनका लागि चाहिने पूर्वाधारको विकासमा सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उद्योगीले मात्रै गरेर हुँदैन । हामी उपभोक्ताले पनि सँगसँगै साथ दिनुपर्छ । सरकारले उत्पादन र बजारीकरणलाई सहयोग गरिदिने हो । उत्पादनलाई बढाउनका लागि सरकारले पूर्वाधारको तर्फबाट केही गरिदिन सक्छ । सरकार फेरि आफैँ उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने पक्षमा छैन अहिले । आमउपभाेक्ताले नेपाली वस्तु उपभोग गर्दै जाने बानी बसाल्नुभयो भने अनि हामी यसमा सफल हुन्छौँ ।’

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी वस्तुको उत्पादनमा नै सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जुत्ता लगायतका वस्तुमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै त्यस्ता वस्तुको उत्पादनमा सरकारको पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । अध्यक्ष अग्रवालले स्वदेशी वस्तुको उत्पादन र बिक्रीका लागि सरकारले उद्योगमैत्री नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon