रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेकाे सार्वजनिक सुनुवाइ सम्पन्न

२०८० पुष १५ गते, आईतवार

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतबार(आज) कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका कम्प्युटर सहायक भागवत कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सुकाजोरका हिमाल भुजेल,अरुण कार्की,राशी कार्की,तारा हायू,सुशिल कार्की,ज्ञानुका बस्नेत, भवानी मगर,सुरेन्द्र बहादुर मोक्तान लगायतले प्रत्यक्ष प्रश्न राखेका थिए भने टेलिफोन मार्फत पनि नागरीकहरुले विभिन्न प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । उनिहरुले सडक,खानेपानी,शिक्षा,सिँचाई,लक्षित वर्गको कार्यक्रम खेलमैदान जस्ता विविध विषयवस्तुहरुमा रहेर प्रश्न गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा एसका नेता सूर्य कार्की,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,राप्रपाका नेता नारायण कुमार कार्की,नेकपा एमालेका नेता धर्ब कुमार बस्नेत,नेपाली कांग्रेसका नेता कमल विक्रम कार्कीले विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले वडाले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने भन्दै सबै कामहरुमा राजनीतिकदलहरुलाई सहभागी गराउन अनुरोध गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले कार्यक्रममा नागरीकहरुले नगरपालिकासँग सम्बन्धित सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा वडासँग सम्बन्धित सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले दिनुभयो ।

नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुको प्रश्न,जिज्ञासा र गुनासोहरु भन्दापनि सकारात्मक सुझावहरु प्राप्त गरेको बताउनुभयो । वडाले हरेक वर्ष नागरीकको अपेक्षा अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।  उहाँले वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने बताउनुभयो । सम्वृद्ध सुकाजोर बनाउन यहाँका सबै नागरीकहरुको साथ र सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

प्रहार मिडिया प्रालीले सहजीकरण गरेको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे लगायत विभिन्न शाखागत कर्मचारीहरु र राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु पत्रकार सहित नागरीकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon