नेपालकाे बिजुली किन्न बङ्गलादेशकाे उच्च प्राथमिकता, ४० मेगावाटका लागि आउँदो महिना सम्झौता हुने

२०८० फाल्गुन २२ गते, मंगलवार

काठमाण्डाै – बङ्गलादेश सरकारले नेपालबाट बिजुली आयातको विषयलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । बङ्गलादेश भ्रमणमा रहेका भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको भेटमा बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतसँगै नेपालबाट बिजुली आयातलाई पनि विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो ।

बङ्गलादेशी सञ्चारमाध्यम ‘ढाका ट्रिब्युन‘ का अनुसार राज्यमन्त्री हमिदले भारत र नेपालबाट नाै हजार मेगावाट बिजुली आयातका लागि बङ्गलादेश तयार रहेको बताउनुभएको छ । आफ्नो देशलाई नवीकरणीय ऊर्जाको आवश्यकता निकै बढ्दै गएको अवस्थामा नेपाल र भारतलगायतका छिमेकीबाट स्वच्छ उर्जा आयात गर्नु पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभएको खबरमा उल्लेख छ । उहाँले पछिल्लो समय नेपाल र भुटानबाट जलविद्युत् खरिदको प्रक्रियाले राम्रो प्रगति भइरहेको पनि जानकारी दिनुभयो ।

शुरुवाती चरणमा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने विषयमा आउँदो महिना सम्झौता हुने पनि राज्यमन्त्री हमिदको भनाइ छ । यस्तै भारतीय कम्पनी जीएमआरले नेपालमा बनाउने आयोजनाबाट पाँच सय मेगावाट बिजुली आयात गर्ने विषय पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यदि नेपालबाट बङ्गलादेशसम्मको डेडिकेटेड प्रसारण लाइन भएमा विद्युत् व्यापारले गति लिने र यसले भारतलाई पनि फाइदा पुग्ने बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले बताउनुभएको छ । उहाँले नेपाल, भारत र बङ्गलादेशले ऊर्जाको क्षेत्रमा ठूलो सहकार्य गर्न सक्ने पनि बताउनुभएको खबरमा उल्लेख छ ।

बङ्गलादेशमा नेपालबाट बिजुली निर्यात गर्ने विषयमा दुई हप्ताअघि नेपाल विद्युत् प्राधिकरणको टोली बङ्गलादेश गएको थियो । तर महसुलको विषयमा कुरा नमिलेपछि टोली अर्को महिना फेरि छलफल गर्ने सहमतिसहित फर्किएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon