शेयर बजारको उत्साह एक दिन पनि टिकेन, आज उच्च अङ्कले घट्यो
काठमाण्डाै – शेयर बजारको उत्साह एक दिन पनि टिक्न नपाउँदै सेलाएको छ । हिजो तीन पटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार आज उच्च अङ्कले घटेको छ ।
नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा हिजो उत्साह देखिएकोमा आज भने स्वात्तै घटेको हो । हिजो एक सय १७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ विन्दुमा झरेको छ । नयाँ अर्थमन्त्रीको टुङ्गो नलागेको र शेयर बजारप्रति लगानीकर्तामा देखिएको अन्योलले गर्दा यसरी बजार छिटो–छिटो तलमाथि हुने विश्लेषकहरू बताउँछन् ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूह, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । उच्च अङ्कले बजार घटेको दिन बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज एक करोड १४ लाख कित्ता शेयर चार अर्ब ११ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
हिजाे नयाँ गठबन्धन बनेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने अपेक्षाले शेयर बजार छ प्रतिशतले बढेर कारोबार बन्द भएको थियो ।







