घाटबेँसी बस दुर्घटना अपडेट : ज्यान गुमाएकामध्ये २ जनाको पहिचान खुल्यो
काठमाण्डौ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ की रुबी श्रेष्ठ र काठमाण्डैको चन्द्रगिरि नगरपालिका वडा नम्बर १० की देखा पदुवारको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना हराइरहेका छन् ।
घाइते भएका ४१ जनामध्ये १३ जना यात्रु उपचारपछि घर फर्किएका छन् । एक जनाको भैरहवामा र २५ जनाको काठमाण्डौमा उपचार भइरहेको डीएसपी जैसवालले जानकारी दिनुभयो ।
कपिलवस्तुबाट काठमाण्डाैतर्फ गुडिरहेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बिहान पृथ्वी राजमार्गको घाटबेँसीबाट त्रिशूली नदीमा खसेको थियो । बस चालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर ९ का हरिराम हरिजनलाई फक्राउ गरेको प्रहरीले जनाएको छ ।







