दुई वडा जाेड्ने मादी नदीमाथि मोटरबेल पुल निर्माण शुरु
तनहुँ – व्यास नगरपालिकाको वडा नम्बर ५ र ७ जोड्ने मादी नदीमाथि मोटरबेल पुल निर्माण थालिएको छ । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि नदीको दुवैतर्फ पिलर राख्ने काम भइरहेको एम/एस इन्दे्रणी निर्माण सेवा प्रालिका सञ्चालक बलबहादुर रानामगरले जानकारी दिनुभयो ।
मादी नदीमाथि एक सय २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बन्नेछ । पुल निर्माणका लागि २०७९ साल पुस १४ गते २० करोड नौ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको काम २०८२ साल पुस ६ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
साविक श्याम्घा र क्यामिन गाविसलाई जोड्नका लागि २०५२ सालमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि पैदल यात्रा सहज भए पनि सामग्री ढुवानीमा सकस हुँदै आएको थियो ।
पुल बनेपछि व्यास–५ चिन्टुटारका स्थानीयवासी बढी लाभान्वित हुने भएका छन् । झोलुङ्गे पुल भएकै ठाउँमा मोटरेबल पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी छाएको छ ।







