हरिहरपुरगढी गाउँपालिकाले प्रदेश सरकारसमक्ष आगामी बजेटका लागि योजना पेस,

२०८२ जेष्ठ ४ गते, आईतवार

सिन्धुली ।
सिन्धुली जिल्लाको विकट मानिने हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक पर्ने विभिन्न पूर्वाधार विकास योजनाहरु बागमती प्रदेश सरकार समक्ष पेस गरेको छ। सोमबार प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष योजनाहरु प्रस्तुत गरिएको हो।

उक्त योजनाहरु प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ को नेतृत्वमा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा र प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराले मुख्यमन्त्री कार्यालय, हेटौंडामा पुगेर मुख्यमन्त्री लामालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएकाे हाे

गाउँपालिका अध्यक्ष वाइबाले हरिहरपुरगढी जिल्लाकै भूगोल र अवस्थाको हिसाबले अत्यन्त विकट तथा असहज गाउँपालिका रहेको जानकारी दिँदै यहाँका स्थानीयवासीहरू अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित रहेको उल्लेख गर्नुभयो। उहाँले मुख्यमन्त्रीसँगको भेटमा गाउँपालिकाभित्र विद्युत्, सडक, सञ्चार, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि र अन्य भौतिक पूर्वाधार विस्तार गर्न अत्यावश्यक योजनाहरुलाई आगामी प्रदेश सरकारको बजेटमा समावेश गरिदिन आग्रह गर्नुभयो।

अध्यक्ष वाइबाले प्रदेश सरकारको सहकार्यबिना गाउँपालिकाको दिगो विकास सम्भव नभएको उल्लेख गर्दै राज्यको प्राथमिकतामा यस्ता पिछडिएका क्षेत्रलाई राख्न जरुरी रहेको धारणा राख्नुभयो।

प्रतिनिधि सदस्य दाहालले पनि हरिहरपुरगढीको समग्र विकासका लागि प्रदेश र संघीय सरकार दुवैको ध्यान जानु आवश्यक रहेको बताउँदै यथासक्य प्रदेश सरकारको बजेटमा समेटिनुपर्ने योजनाहरुको प्रभावकारी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री लामाले पेस गरिएका योजनाहरु अध्ययन गरी यथासम्भव आगामी बजेटमा समावेश गर्ने आश्वासन दिनुभएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon