शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते,
रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौँ जाँदै गरेको एम्बुलेन्स खाँडादेवी गाउँपालिका–३ स्थित सित्खा गोगनपानी सडक खण्डमा दुर्घटनामा परेको छ। प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको उक्त एम्बुलेन्स बिहीबार बिहान अनियन्त्रित भई झण्डै १०० मिटर तल खसेको हो।
दुर्घटनामा एम्बुलेन्समा सवार चार जनामध्ये तीन जना घाइते भएका छन्। घाइतेहरूमा २४ वर्षीय चालक सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिल बहादुर दमाई रहेका छन्। तीनै जना रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल, काभ्रे पठाइएको छ। एम्बुलेन्समा रहेको शव भने घटनास्थलमै सुरक्षित रहेको जनाइएको छ।







