ट्वाङट्वाङ्गेमा शिक्षा उज्यालो बनाउने नयाँ ढोका खुल्यो,

२०८२ जेष्ठ ८ गते, बिहीबार

सिन्धुली ।

गोलन्जोर गाउँपालिका वडा नं. ४ स्थित प्राथमिक विद्यालय ट्वाङट्वाङ्गेमा नवनिर्मित भवनको आज एक विशेष समारोहका बीच उद्घाटन तथा हस्तान्तरण गरियो।

चार कोठे पक्की संरचना, आधुनिक फर्निचरसहितको यो भवन अब केवल कक्षा सञ्चालनको केन्द्र मात्र होइन, सामुदायिक सहकार्य र प्रतिबद्धताको जीवन्त उदाहरण बनेको छ। समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शंकर राज बरालले उद्घाटन गर्दै भन्नुभयाे“यो भवन ईँटा र सिमेन्टको मात्र संरचना होइन, यो हाम्रो सामुदायिक भावना, हाम्रो भविष्यप्रतिको विश्वासको प्रतिबिम्ब हो।”

साढे एक करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवन ब्याक टू लाइफ ई भी जर्मनीको आर्थिक सहयोगमा तथा सामुदायिक पद्धति विकास सेवा सिन्धुलीको प्राविधिक साथमा बनेको हो।

कार्यक्रममा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, ब्याक टू लाइफका कार्यक्रम निर्देशक डेकेन्द्र लाल ढकाल, वडा अध्यक्ष भक्त बहादुर भुजेल, कृष्ण प्रसाद पोख्रेल (केपी) र म्यानेजर अनुप पौडेल लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवन आले मगरले भावुक हुँदै भने, “हामी सबैको मेहनतले आज यो सपना साकार भएको छ। यो भवनले अबका पुस्ताको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

नयाँ संरचनाबाट विद्यार्थीहरूको सिकाइमा सुधार हुने र शिक्षाको गुणस्तरमा उल्लेख्य वृद्धि हुने स्थानीयको विश्वास छ।

शिक्षा अब टाढाको सपना होइन, सामुदायिक एकताबाट नजिकिएको यथार्थ हो—ट्वाङट्वाङ्गेको नयाँ विद्यालय भवनले यही सन्देश दिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon