सूचना प्रविधिसम्बन्धी तालिम कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुलीकाे गोलन्जोर गाउँपालिका, शिक्षा शाखाको आयोजनामा ४ दिने “सूचना प्रविधिसम्बन्धी तालिम कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। तालिम कार्यक्रम आधारभूत तथा माध्यमिक तहका सामुदायिक विद्यालयमा कार्यरत IT/कम्प्युटर शिक्षकहरूका लागि सञ्चालन गरिएको थियो।
तालिममा गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूबाट २० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई एकीकृत शिक्षासम्बन्धी व्यवस्थापन सूचना प्रणाली Integrated Education Management Information System (IEMIS), आधारभूत कम्प्युटर सीप, र शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
IEMIS प्रणालीसम्बन्धी प्रशिक्षण प्र.अ. श्री वल बहादुर भुजेलले सहजीकरण गर्नुभएको थियो भने सूचना तथा सञ्चार प्रविधिको प्रयोगद्वारा कक्षा कोठामा शिक्षणलाई प्रभावकारी, रोचक र दिगो बनाउने विषयमा गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुविर विक्रम कार्की र MIS अपरेटर बेल कुमार मगरले सहजीकरण गर्नुभएको थियो।
शिक्षकहरूको सूचना प्रविधि प्रयोगमा दक्षता अभिवृद्धि गर्दै शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन ।![]()







