रामेछापमा गणतन्त्र दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न,
रामेछाप ।
गणतन्त्र दिवसको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरूमध्ये एक विशेष कार्यक्रम अन्तर्गत आज(शुक्रबार) रामेछाप जिल्ला अस्पतालको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रामेछाप नगरपालिकाको सहकार्य तथा जिल्ला अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
रक्तदान कार्यक्रम रामेछाप नगरपालिकाका मेयर श्री लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख बालकुमारी कार्की थापा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, जिन्सी शाखा प्रमुख घना माया श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की, पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पा, नगर प्रहरी इन्चार्ज विष्णु बहादुर कार्की, नेपाल रेडक्रस सोसाइटीका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न शाखागत कर्मचारीहरू, डिभिजन वन कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरू, सञ्चारकर्मी, जिल्ला अस्पतालका मेसु केशव श्रेष्ठ लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।![]()
कार्यक्रमको प्रमुख उद्देश्य मानव सेवाको भावना अभिवृद्धि गर्नुका साथै जिल्लामा रगतको अभावको समस्यालाई न्युनिकरण गर्नु रहेको थियो। यस अवसरमा ११ जना पुरुष ९ जना महिला गरि जम्मा २० जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए। रक्तदाताहरूमा नगरपालिका कर्मचारी, स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै मेयर लव श्री न्यौपानेले भन्नुभयो रक्तदान जीवनदान हो भन्ने सन्देश समाजमा फैलाउनु आजको आवश्यकता हो। यस्ता कार्यक्रमले जनमानसमा मानवीय भावना जागृत गराउँछ र हाम्रो समाजलाई अझ सशक्त बनाउँछ।”
![]()
नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला अस्पतालका प्राविधिक सहयोगमा सम्पन्न यस कार्यक्रममा रक्त संकलन, परीक्षण तथा सुरक्षित भण्डारणको सम्पूर्ण प्रक्रिया स्वास्थ्य मापदण्डअनुसार सञ्चालन गरिएको थियो।
गणतन्त्र दिवसको अवसरमा आयोजित यस किसिमको मानव सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था तथा स्वयंसेवकहरूबीचको सहकार्यद्वारा सञ्चालित यस्तो अभियानले भावी दिनहरूमा थप प्रेरणा दिने विश्वास गरिएको छ। ![]()







