५१ सूचक पूरा गर्दै मन्थली बालमैत्री घोषणा नजिक,
रामेछाप ।![]()
रामेछाप जिल्लाको मन्थली नगरपालिका बालमैत्री नगर घोषणा गर्न नजिकिएको छ। लामो समयदेखि आवश्यक पूर्वाधार विकास, नीतिगत तयारी र सामाजिक सचेतनाका कार्यक्रमहरू अघि बढाउँदै आएको नगरपालिकाले यहि जेठ महिनाभित्र औपचारिक घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ।
बुधबार आयोजित बालमैत्री स्थानीय शासन अवस्थासम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखाका प्रमुख हेमन्त कुमार बुढोथोकीले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार, मन्थली नगरपालिकाले विगत चार वर्षदेखि बालमैत्री नगर घोषणाका लागि योजना अनुरूप काम गर्दै आएको छ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा उल्लेखित ५१ सूचकमध्ये सबै सूचकहरू पूरा गर्दै नगरपालिकाका १४ वटै वडालाई बालमैत्री वडा घोषणा गर्न जिल्ला समन्वय समितिमा सिफारिस भइसकेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, बालअधिकार संरक्षण, सहभागीता तथा पूर्वाधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी नगरप्रमुख लव श्रेष्ठले दिनुभयो।
जिल्लास्तरीय अनुगमन कार्य सम्पन्न भइसकेको र अब बाग्मती प्रदेशस्तरीय समितिबाट प्रतिवेदन अनुमोदन भएलगत्तै बालमैत्री नगर घोषणा गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो। साथै, बालमैत्री स्थिति कायम राख्न आगामी वर्षहरूमा निरन्तर बजेट विनियोजन तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले घोषणा पछि त्यसको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै साझा प्रयासमा लाग्न आग्रह गर्नुभयो। उहाँले जिल्लाकै दुई नगरपालिकाले बालमैत्री घोषणा गर्न लाग्नु रामेछापको लागि गौरवको विषय भएको धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, बालबालिका तथा संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउँदै सुझाव र प्रश्न राखेका थिए। रामेछाप नगरपालिकाले पनि बालमैत्री घोषणा प्रक्रियाको अन्तिम चरण पार गर्दै अघि बढिरहेको छ, जसले जिल्लालाई समग्र रूपमा बालमैत्री वातावरणतर्फ अग्रसर बनाउँदै लगेको छ।![]()







