हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारी विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,

२०८२ जेष्ठ २६ गते, सोमबार

सिन्धुली ।

सिन्धुलीको हरिरपुरगढी गाउँपालिकामा आज(साेमबार) वैदेशिक रोजगारीका विषयमा जनप्रतिनिधि तथा शाखा प्रमुख कर्मचारीहरूसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कमल कुमार राई, वडा नं. १ का अध्यक्ष जित बहादुर थिङ, वडा नं. ५ का अध्यक्ष साईला लामा (साजन) सहित विभिन्न शाखा प्रमुखहरूको समेत उपस्थिति थियो।

अध्यक्ष वाइबाले वैदेशिक रोजगारमा जान चाहने नागरिकलाई आवश्यक सेवा र जानकारी प्रदान गर्न सामी (सुरक्षित आप्रवाशन परियोजना) का सहजकर्ताहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले वैदेशिक रोजगारको कानुनी प्रक्रिया र कार्यविधिबारे स्थानीय तहबाटै जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीमा समस्या भोगेका पीडितहरूका लागि गाउँपालिकाबाट निःशुल्क कानुनी सहायता उपलब्ध गराउने व्यवस्था गरिने जानकारी पनि दिनुभयो।

सामी परियोजना सिन्धुलीका कार्यक्रम संयोजक विजय दाहालले वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया, त्यसका सम्भावित जोखिमहरू तथा समाधानका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित र जानकारीमूलक बनाउने उद्देश्यका साथ जनप्रतिनिधि र प्रशासनबीच समन्वय अभिवृद्धि गर्ने अवसर प्रदान गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon