रामेछापका सबै वडाले पूरा गरे बालमैत्री सूचक, एकैदिन घोषणा,

२०८२ जेष्ठ २७ गते, मंगलवार

रामेछाप ।

रामेछाप नगरपालिकाको ९ वटै वडा आज (मंगलबार) एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। वडा नं १ गोठगाउँदेखि वडा नं ९ ल्याङ्गल्याङ्गसम्मका वडाहरूले बालमैत्री स्थानिय शासनका ५१ वटै सूचकहरू पुरा गरी यो उपलब्धि हासिल गरेका हुन्।

२०७९ साल असोज २६ गतेदेखि बालमैत्री अवधारणाअनुसार काम सुरु गरेका वडाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, बालसुरक्षा, सहभागिता र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएका थिए। यसैका आधारमा जिल्ला समन्वय समितिबाट आवश्यक अनुगमन सम्पन्न भएपछि सबै वडाहरूलाई एकैदिन बालमैत्री घोषणा गरिएको हो।

घोषणा समारोह वडागत रूपमा सम्पन्न गरिएको थियो, जहाँ विभिन्न वडाहरूमा विभिन्न प्रमुख अतिथिहरूको उपस्थिति रह्यो। वडा नं १ मा नगरपालिकाका निवर्तमान उपप्रमुख सृजना खड्का, वडा नं २ मा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापा, वडा नं ३ मा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, वडा नं ४ मा नगर प्रमुख लवश्री न्यौपाने तथा वडा नं ५ मा जिल्ला समन्वय अधिकारी हरि कृष्ण फुयाल सहभागी थिए।

त्यस्तै, वडा नं ६ मा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, वडा नं ७ मा निवर्तमान उर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम), वडा नं ८ मा शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल र वडा नं ९ मा बाग्मती प्रदेशसभा सदस्य तारा नारायण श्रेष्ठ प्रमुख अतिथि थिए।

जिल्ला स्तरमै पहिलो पटक एकैपटक सबै वडाहरू बालमैत्री घोषित हुनुले रामेछाप नगरपालिकालाई बालअधिकारको प्रवर्द्धनमा अग्रणी बनाएको छ। अब प्रदेश सरकारमा सम्पूर्ण विवरण पेश गरिनेछ र स्वीकृतिपछि सम्पूर्ण नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी रहेको छ। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले बालमैत्री अवधारणालाई दिगो बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका छन्।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon