सफा र स्वच्छ समुदाय घोषणा तथा ‘एक घर, एक धारा’ आयोजनाको उद्घाटन,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ४ को टाडि, फड्के, डाँडा टोलका ७९ घरमा “एक घर, एक धारा” कार्यक्रम अन्तर्गत धारा जडान कार्य सम्पन्न भएपछि उक्त बस्तीलाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको हाे । खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको हिजो (मंगलबार ) औपचारिक उद्घाटन गरिएको थियोे ।
असार ३१ गते गोलन्जोर गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (NEWA) को साझेदारीमा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष शंकरराज बरालले उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष बरालले भन्नुभयो “स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानको पहिलो पाइला नै स्वच्छता हो। एक घर, एक धाराजस्तो कार्यक्रमले पानीको पहुँचसँगै स्वास्थ्यमा प्रत्यक्ष सुधार ल्याउँछ। यो योजना बस्तीको जीवनशैली परिवर्तनतर्फको ठूलो कदम हो।”
उहाँले योजना कार्यान्वयनमा साथ दिने सबै पक्षलाई धन्यवाद दिँदै यस्तो अभियानलाई पालिकाभर विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि गर्नुभयो ।
नेपाल स्वास्थ्यका लागि पानी (NEWA) का प्रतिनिधिहरू, वडा अध्यक्ष, सामाजिक अगुवा र स्थानीय बासिन्दाको उपस्थिति रहेको कार्यक्रममा स्थानीयले पनि योजना सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।![]()







