विदेश पठाइदिन्छु’ भन्दै ठगी गर्ने वडा सदस्य सम्पर्कविहीन,
![]()
रामेछाप ।
‘युरोप पठाइदिन्छु’ भन्दै युवाहरूलाई प्रलोभनमा पारेर लाखौं रकम ठगी गरेका रामेछाप नगरपालिका–७ का वडासदस्य महेन्द्र मगर सम्पर्कविहीन भएका छन्। आफ्नै वडाका १४–१५ जना युवासँग उनले भारतमार्फत भिसा लगाइदिने भन्दै जनही ५० हजार रुपैयाँ संकलन गरेका थिए।
पीडितहरूका अनुसार वडा सदस्य मगरले आकर्षक रोजगारीको आश्वासनसहित ३ महिनाभित्र भिसा आउने भनेका थिए। तर, पैसा र पासपोर्ट बुझाएको एक वर्ष बितिसक्दा पनि उनी सम्पर्कमा आएका छैनन्। ‘वडासदस्यजस्तो जिम्मेवार व्यक्तिको विश्वास गरेँ, तर अहिले फोन अफ छ, फेसबुक पनि बन्द छ,’ पीडित अस्मिता महताराले भनिन्।
ठगीको शिकार बनेका सागर कार्कीले पनि आठ महिनाअघि पासपोर्ट बुझाएका थिए। पैसा नदिएको कारण उनको पासपोर्ट फिर्ता नआएको र अहिले नयाँ पासपोर्ट बनाउने बाध्यता आएको उनले बताए। कार्की भन्छन्, ‘उनले पैसा नपाए पनि पासपोर्ट बुझाएर राखे। अहिले त अर्कै देश जान नयाँ पासपोर्ट बनाउनु परिरहेको छ।’
स्थानीयहरूका अनुसार मगरले आफ्नै गाउँका युवाहरूमाथि विश्वास गुमाउने गरी ठगी गरेका छन्। उनी विदेशिएका हुन सक्ने आशंका पनि गरिएको छ। उनका एक छिमेकीका अनुसार, “पैसा लिएको केही समयमै उनी गाउँमै देखिन छाडेका थिए। अहिले त कतै विदेश पुगेको जस्तो लाग्छ।”
यसबारे रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पीडितले प्रमाणसहित उजुरी दिएको खण्डमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताउनु भएको छ। उहाँले भन्नुभयो ‘ठगीका घटनामा उजुरी परे अनुसन्धान गरिन्छ, जनप्रतिनिधि भए भन्दैमा कसैले मुक्ति पाउदैन । कानुन सबैकाे लागि बनेको हाे ।







