मरिण गाउँपालिका फेरि उत्कृष्ट घोषित, प्रमुख विमर्श भुक्तानले जिते युवा पुस्ताको मन,
सिन्धुली ।
माओवादी केन्द्रबाट निर्वाचित सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श भुक्तानको नेतृत्वमा गाउँपालिका फेरि पनि उत्कृष्ट घोषित भएको छ। नेपाल सरकारले सार्वजनिक गरेको वार्षिक मूल्याङ्कनमा सिन्धुली जिल्लाका नौ वटा पालिकामध्ये मरिण गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो।
यसअघि स्थानीय तह निर्वाचनमा अत्यधिक मत प्राप्त गरी विजयी भएका अध्यक्ष भुक्तानलाई गाउँपालिकावासी मात्र नभई समग्र सिन्धुलीवासीले आशाको प्रतीकको रुपमा हेर्दै आएका छन्। युवा पुस्ताको विश्वास जित्दै नेतृत्वमा आएका भुक्तान सिन्धुलीकै कान्छा गाउँपालिका अध्यक्ष हुन्। नेतृत्वमा आएदेखि नै उनले गाउँपालिकामा पारदर्शिता, इमानदारी र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेका कारण पालिका निरन्तर प्रगतिशील कार्यमार्फत प्रदेश र केन्द्र सरकारको मूल्याङ्कनमा उत्कृष्ट ठहरिने क्रम दोहोरिएको हो।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार विकास, सीपमूलक तालिम तथा युवा लक्षित कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। गाउँपालिकाले सूचना प्रविधिको प्रयोगमार्फत सेवाप्रवाहलाई सहज र सरल बनाउन थालेको, स्थानीय उत्पादनलाई बजारमा जोड्ने कार्यक्रम सञ्चालन गरेको तथा महिला र वञ्चित समुदायलाई लक्षित गरेर विशेष योजना ल्याएको सरकारी मूल्याङ्कनमा उल्लेख छ।
उत्कृष्ट घोषित भएलगत्तै गाउँपालिकावासीमा थप उत्साह थपिएको छ। गाउँपालिकाका स्थानीयवासीहरूको भनाइअनुसार, युवा नेतृत्वले गरेको प्रयास, ईमानदार काम र विकासप्रतिको दृष्टिकोणले नै मरिण गाउँपालिका अन्य पालिकाभन्दा अलग देखिएको छ।
अध्यक्ष भुक्तानले उत्कृष्ट घोषणापछि आफ्नो संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले भन्नुभयाे“यो उपलब्धि मेरो मात्र होइन, गाउँपालिकाका जनताको हो। सबैको सहकार्य र विश्वासले नै हामीलाई यो स्थानमा ल्याएको हो। आगामी दिनमा अझै पारदर्शिता, जवाफदेहित्ता र समावेशीताको आधारमा काम गर्नेछु।”







