गाेलन्जाेरकाे वडा नं ६ घाेक्शिलामा विद्यालय भवन शिलान्यास,
सिन्धुली,
गोलन्जोर गाउँपालिका वडा नं ६ स्थित मङ्गला माध्यमिक विद्यालय, घोक्शिलामा आठ कोठे नयाँ विद्यालय भवनको आज (आइतबार) शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
उक्त भवन ‘ब्याक टु लाइफ इ.भी’ जर्मनी / समुदाय पद्धति विकास सेवा सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो।
शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल, वडा नं. ६ का प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि तथा सहयोगी संस्था ‘ब्याक टु लाइफ इ.भी’का प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शंकरराज बरालले भन्नुभयाे “गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु अत्यावश्यक छ। यो भवनले विद्यार्थीलाई सिकाइमा सहजता ल्याउनेछ र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास लिएको छु।”
त्यस्तै कार्यक्रममा बाेल्दै उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले भन्नुभयाे “शिक्षा नै विकासको मेरुदण्ड हो। गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै सहयोगी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। यो भवन निर्माणले ग्रामीण क्षेत्रका बालबालिकाको भविष्य उज्यालो बनाउन ठूलो मद्दत गर्नेछ।”
समुदाय पद्धति विकास सेवा सिन्धुलीका अनुसार, निर्माणकार्य चाँडै सुरु गरिनेछ र गुणस्तरीय निर्माण सामाग्री तथा प्रविधि प्रयोग गरेर भवन निर्माण पूरा गरिनेछ।







