बागमती गाउँपालिका पुनः जिल्लास्तरमा प्रथम, स्वास्थ्य सेवा प्रवाहमा प्रशंसनीय योगदान,
![]()
मकवानपुर ।
बागमती गाउँपालिकाले आ.व. २०८१/०८२ का लागि सम्पन्न स्वास्थ्य सेवासम्बन्धी जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा पुनः जिल्लास्तरमा प्रथम स्थान हासिल गरेको छ।
मकवानपुर जिल्लाका १० स्थानीय तहहरू मध्ये बागमती गाउँपालिकाले ८२.३० अंक प्राप्त गरी सम्मान प्राप्त गरेको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय, मकवानपुरद्वारा आयोजित उक्त वार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहहरूका प्रमुख स्वास्थ्य सूचकहरू, सेवा प्रवाहको अवस्था, कार्यक्रम कार्यान्वयन तथा समग्र स्वास्थ्य प्रणालीको कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको थियो।
स्वास्थ्य सेवा प्रवाहमा निरन्तर सुधार, गुणस्तरीय सेवा र स्वास्थ्यकर्मीहरूको समर्पणका कारण बागमती गाउँपालिकाले पुनः यो सम्मान प्राप्त गर्न सफल भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखा तथा मातहतका स्वास्थ्य संस्थाहरूले समुदायमा निरन्तर रूपमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। यस कार्यसम्पादनका लागि गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय, मकवानपुरप्रति आभार व्यक्त गर्दै सम्मान र अवसरका लागि धन्यवाद ज्ञापन गरेको छ।
त्यसैगरी, स्वास्थ्य शाखा प्रमुख श्री दिनेश कुमार गुप्ताको नेतृत्वमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई गाउँपालिकाले उच्च सम्मान, नमन, धन्यवाद र हार्दिक बधाई प्रकट गरेको छ।
गाउँपालिकाका अनुसार, यो उपलब्धिले स्थानीय तहमा स्वास्थ्य क्षेत्रप्रति जनविश्वास अझ बढाएको छ र आगामी दिनहरूमा अझ गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ।![]()







