उमाकुण्ड गाउँपालिकामा ज्वरो–रुघाखोकीका बिरामी बढेपछि विद्यालय तीन दिनका लागि बन्द
रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने बिरामीहरूको संख्या बढ्न थालेपछि स्थानीय स्तरमै स्वास्थ्य सतर्कता बढाइएको छ।
विद्यालय र समुदाय दुवै क्षेत्रमा बालबालिकासहित सर्वसाधारणमा लक्षण देखिन थालेपछि जनस्वास्थ्य कार्यालय रामेछाप, रामेछाप अस्पताल तथा सम्बन्धित स्वास्थ्य संस्थाहरूले औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रतर्फ खटिएका छन्।
स्वास्थ्यकर्मीको टोलीले प्रिति अस्पताल, गुप्तेश्वर स्वास्थ्य चौकी र गुप्तेश्वरस्थित कैलेश्वर माध्यमिक विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झा ले जानकारी दिए। उनका अनुसार लक्षण देखिएका सबैको अवस्था अहिले सामान्य रहेको छ। पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा संक्रमणका लक्षण बढी देखिएका छन्।
लक्षण कोरोनासँग मिल्दोजुल्दो भए पनि ल्याब परीक्षणको नतिजा नआएसम्म निश्चित रूपमा के भएको हो भनेर भन्न नसकिने झा को भनाइ छ। केही व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। पालिका क्षेत्रमै प्रिति अस्पतालमा कल्चर मेसिन सञ्चालनमा ल्याई आवश्यक परीक्षण स्थानीयस्तरमै गर्ने तयारी पनि मिलाइएको छ।
बालबालिकामा देखिएको बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उमाकुण्ड गाउँपालिकाले कात्तिक २८ देखि ३० गतेसम्म सबै विद्यालय बन्द राख्ने निर्णय गरेको छ।







