नगरपालिका र बैंक अगाडि गिटी–बालुवाको थुप्रो: सर्वसाधारणदेखि वृद्ध सेवाग्राहीसम्म जोखिममा,

२०८२ मंसिर २३ गते, मंगलवार

रामेछाप ।

रामेछाप जिल्ला, रामेछाप नगरपालिका–८ अन्तर्गत नगरपालिका भवन र राष्ट्रिय वाणिज्य बैंक अगाडिको मेन रोडमा केही दिनयतादेखि अनियमित रूपमा गिटी–बालुवा थुपारिँदा सर्वसाधारणको आवतजावत तथा सवारी सञ्चालनमा गम्भीर रूपमा प्रभावित हुँदै आएको स्थानीयहरूले बताएका छन्।

नगरपालिका, बैंकसम्म रहेको बजार क्षेत्रमा सडककै बीचमा राखिएको गिटी–बालुवाका कारण पैदल यात्रु, मोटरसाइकल चालक तथा दैनिक यात्रुहरू जोखिममा परेका छन्। स्थानीयका अनुसार मोटरसाइकल गिट्टीमा चिप्लिने दुर्घटना हुने सम्भावना धेरै छ भने “मानिस हिँड्ने ठाउँ नै छैन, बाइक चिप्लिएर दुर्घटना हुने डर झन् बढी रहेको छ,” एक स्थानीयले बताएका छन् ।

नगरपालिकाले पटक–पटक सडकमा निर्माण सामग्री नराख्न चेतावनी दिएपनि सम्बन्धित पक्षले बेवास्ता गर्दै आएपछि उल्टै नगरपालिका नै समस्यामा परेको देखिन्छ। “नगरपालिकाले धेरै पटक हटाउन भनेको हो, तर नटेरेपछि समस्या झन् जटिल बन्दै गएको छ,” नगरप्रमुखको भनाइ छ।

यसबाहेक राष्ट्रिय वाणिज्य बैंकबाट सामाजिक सुरक्षा भत्ता लिने वृद्ध–वृद्धाहरूको बैंक अगाडि भिड लाग्ने गर्दछ। त्यसमाथि सडकमा थुपारिएको गिट्टी बालुवाले वृद्धावस्थाका सेवाग्राहीहरू समेत थप जोखिममा परेका छन् । “सानाे ठाउँ, भीडभाड, अनि बीचमा गिटी–बालुवाको थुप्रो यसैगरी राख्दा सेवा लिन आउने बुढाबुढीहरूले त झन् दुर्गति बेहोर्नुपरेको छ ” एक स्थानीयकाे गुनासो छ ।

“कानुन सबैका लागि बराबर हैन र ? ठुला पावर भएका मान्छेले भने कानुन नमान्दा किन स्थानीय सरकारले कारबाही गर्दैन? यहाँ दुर्घटना भयो भने कसले क्षतिपूर्ति दिन्छ ?बजारवासीहरू प्रश्न गर्छन्।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon