रामेछाप नगरपालिकाले पहिलो चौमासिकमा १४% बजेट खर्च,

२०८२ मंसिर २४ गते, बुधबार

रामेछाप ।

रामेछाप नगरपालिका चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा जम्मा बजेटको १४ प्रतिशत मात्र खर्च भएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले हालसम्मको बजेट खर्च र कार्य प्रगति सार्वजनिक गर्दै चालू तर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत तथा पूँजीगततर्फ ५७ लाख ६४ हजार ८ सय २४ रुपैयाँ अर्थात १.७३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो।

सुनुवाइ कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीदेखि विपद् व्यवस्थापनसम्मका मुद्दामा स्थानीयले प्रश्न उठाएका थिए। स्थानीयको प्रश्नका आधारमा नगरपालिकाले ५ बुँदे प्रतिबद्धता गरेको छ। जसअन्तर्गत—
सबै कार्यालयमा कर्मचारीलाई पोसाक सहित समयमा उपस्थित गराई सेवा प्रवाहलाई नियमित गर्ने,
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि प्रशिक्षक अभाव नहुन खेलकुद शिक्षकलाई तालिम दिने,
बाँदर आतंक नियन्त्रणका लागि वैकल्पिक उपाय खोज्ने,
स्वास्थ्य संस्थामा नियमित अनुगमन गरी निशुल्क औषधि वितरण सुनिश्चित गर्ने,
स्वास्थ्य चौकी गोठगाउँको नवनिर्मित भवन छिटो हस्तान्तरण गरी गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियोे ।

वडा नं. १ गोठगाउँमा आयोजित एकीकृत घुम्ती शिविरमा ४३ जनाले परिचयपत्र सेवा पाए भने पशु स्वास्थ्य शिविरबाट ११७ कृषक लाभान्वित भए। बाख्रा ६२४, भैंसी ८३, गाई/गोरु १०४ र कुखुरा ५९१ को उपचार तथा परामर्श प्रदान गरिएको थियो। कृषि मिनिकिट १७२ जनाले प्राप्त गरेका थिए। चालू वर्षका १९ मध्ये वडा नं. १ का ११ र वडा नं. ३ का ८ योजना सम्झौताहरुको जानकारीसमेत प्रस्तुत गरिएको थियो।

नागरिकका प्रश्नहरूको जवाफ नगर प्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चापागाईं तथा सम्बन्धित वडाका वडाअध्यक्षहरूले दिएका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति, विभिन्न राजनीतिक दल, पत्रकार महासंघ तथा नागरिक समाजका प्रतिनिधिले निस्पक्षता र पारदर्शितामा जोड दिँदै सुझाव राखेका थिए।

सार्वजनिक सुनुवाइमा नगरका जनप्रतिनिधि, शाखागत कर्मचारी, पत्रकार, नागरिक तथा राजनीतिक दलका प्रतिनिधि सक्रिय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon