रामेछाप बजारको मुख्य सडक अब छिट्टै कालोपत्रे हुँदै, १५ दिने अन्तिम सूचना जारी,
रामेछाप ।
धुलाम्मे सडक, बिग्रँदो बजार आवागमनको पीडा अब रामेछाप बजारवासीका लागि अन्तिम अन्तिम हुदै जाने संकेत देखिएको छ । रामेछाप नगरपालिकाको मुटु मानिने रामेछाप बजारको मुख्य सडक अब केही महिनाभित्रै कालोपत्रे हुने भएको छ ।
सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाअन्तर्गत पर्ने यो सडक खण्ड निर्माणका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडक मापदण्डभित्र परेका घरटहराहरूको मुआब्जा वितरण भइसकेको भए पनि केही घरधनीले संरचना नहटाउँदा काम अवरुद्ध बनेको थियो । यही कारण रामेछाप नगरपालिका वडा नं. ८ ले १५ दिने अन्तिम सूचना जारी गर्दै निर्माण कार्यका लागि बाटो खुलाउन पहल गरेको हो ।
रामेछाप मानेँडाँडा बुद्धचोकदेखि माथिल्लो बजारसम्म फैलिएको करिब १५ सय मिटर, १.५ किलोमिटर सडक खण्ड कालोपत्रे हुने तयारीमा छ । बजार क्षेत्रभित्र करिब ३५ वटा घरटहरा हटाउनुपर्ने भएकाले वडाध्यक्ष सन्तोष तामाङसहितको टोलीले प्रत्यक्ष रूपमा घरधनीसँग भेटघाट गरी सूचना टाँस गर्नुभएकाे छ ।
वडाध्यक्ष तामाङका अनुसार तोकिएको समयसीमाभित्र पनि घरटहरा नहटाएमा कानुनअनुसार प्रक्रिया अघि बढाइनेछ । “मुआब्जा बुझिसकेपछि पनि ढिलाइ हुँदा सार्वजनिक हितको काम रोकिएको छ,” उहाँले भन्नुभयो, “अबको समयसीमा अन्तिम हो ।”
हालसम्म केही कच्ची र जीर्ण घरहरू हटाइए पनि पक्की संरचनाहरू अझै बाँकी छन् । ती संरचना हटेपछि निर्माण कम्पनीले तत्कालै कालोपत्रे कार्य सुरु गर्ने तयारी गरेको जनाएको छ ।
५० किलोमिटर लामो सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप हुँदै साँघुटारसम्म फैलिएको छ । यसमध्ये सेलेघाटदेखि ल्याङल्याङसम्म करिब ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तर बजार क्षेत्रको सडक बिग्रिएपछि स्थानीयवासीले पटक–पटक गुनासो गर्दै आएका थिए
भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको यस सडकको ठेक्का भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको हो । सो कम्पनीले नेपाली निर्माण व्यवसायीमार्फत काम गराइरहेको छ ।
सन् २०२० नोभेम्बरमा सुरु भएको आयोजना १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँको लागतमा सन् २०२३ मे १० भित्र सक्ने लक्ष्य थियो । समयमै काम नसकिएपछि पटक–पटक म्याद थपिँदै आएको यश आयोजनाले अब छिटो काम अघि बढाउने आशा गरिएको छ ।
वडा कार्यालयले जारी गरेको सुचना पढ्न सक्नुहुनेछ ।
![]()







