रामेछापका पत्रकारलाई केएमसीमा ५० प्रतिशत उपचारमा छुट,
रामेछाप ।
निवर्तमान ऊर्जा राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लामा क्रियाशील पत्रकारहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने प्रतिबद्धता गर्नुभएको थियोे ।
हिजो (सोमबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता तामाङले पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार रामेछापका पत्रकारहरू केएमसी सिनामंगलमा उपचार गराउँदा उपचार खर्चमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
त्यसैगरी, आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अन्य सर्वसाधारण नागरिकहरूका लागि पनि उपचार खर्चमा ३० प्रतिशतसम्म छुट गराएर सहयोग गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो। समाजका कमजोर तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले यस्तो पहल गरिएको तामाङको भनाइ छ।
नेता तामाङले पत्रकारहरूले लोकतन्त्र सुदृढीकरणमा पुर्याएको योगदानको कदरस्वरूप यो निर्णय लिइएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा यस्तै सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।







