गोलन्जोर–३ ग्वाल्टारमा दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाकाे आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेश, हेटौडा र समुदाय पद्धति विकास सेवा, सिन्धुलीको सहकार्यमा गोलन्जोर–३ ग्वाल्टारस्थित गोलन्जोर आधारभूत अस्पतालमा दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
गाउँपालिकाले स्थानीय नागरिकको स्वास्थ्य सेवा पहुँच सहज बनाउने उद्देश्यले आयोजना गर्न लागेको उक्त शिविरमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ। शिविरबाट हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग, जनरल फिजिसियन (MDGP) सेवा लगायतका उपचार तथा परामर्श निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
यसैगरी शिविरमा रेडियोलोजी सेवा अन्तर्गत एक्स–रे, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड (USG), सुगर, प्रेसर, थाइराइड जाँच, रगत, दिसा, पिसाब तथा खकार परीक्षणको सुविधा रहनेछ। बिरामीलाई आवश्यक निःशुल्क औषधि वितरणको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
निःशुल्क स्वास्थ्य शिविर २०८२ साल पुस ८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म र पुस ९ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
गोलन्जोर गाउँपालिकाले शिविरमा सहभागी भई मौकाको भरपुर फाइदा उठाउन सम्पूर्ण स्थानीयवासीलाई हार्दिक अनुरोध गरेको छ। आयोजकका अनुसार यस्तो शिविरले ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा प्रत्यक्ष पहुँच पुर्याउने विश्वास लिइएको छ।![]()







