मरिणको पहिचान बोकेको ५औँ मरिण महोत्सव भव्य उद्घाटन,

२०८२ पुष ९ गते, बुधबार

सिन्धुली ।
उद्योग वाणिज्य संघ मरिणको आयोजनामा ५औँ मरिण महोत्सव–२०८२ को आज(बुधबार) उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
उद्योग वाणिज्य संघ मरिणका संयोजक चिन्ध्वज बम्जनको अध्यक्षता मा सम्पन्न कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात)प्रमुख अतिथि रहनु भएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष मुक्तानले मरिण महोत्सव स्थानीय उत्पादन, कला–संस्कृति र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण माध्यम बनेको बताउनुभयो।

उहाँले भन्नुभयो, “मरिण महोत्सवले स्थानीय उद्यमी, किसान र कलाकारलाई उत्साह दिने मात्र होइन, गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुर्‍याएको छ। यस्ता कार्यक्रमले मरिणलाई राष्ट्रियस्तरसम्म चिनाउने अवसर प्रदान गर्छ।”
उहाँले महोत्सवलाई निरन्तरता दिन गाउँपालिकाले आवश्यक सहकार्य र सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला माझी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख स्कीम श्रेष्ठ तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। विशिष्ट अतिथिहरूले महोत्सवले स्थानीय उद्योग, व्यापार र रोजगारी सिर्जनामा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ मरिणको सम्पूर्ण टिम, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका सरोकारवाला महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सव अवधिभर स्थानीय उत्पादनका स्टल, सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवले मरिण क्षेत्रको पहिचान, आर्थिक सशक्तिकरण र सामाजिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon