गोलन्जोरमा दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न, ६०१ जनाले पाए उपचार सेवा,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारस्थित गोलन्जोर आधारभूत अस्पतालमा आयोजना गरिएको दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागमती प्रदेश हेटौडा र समुदाय पद्धति विकास सेवा, सिन्धुली को सहकार्यमा शिविर सञ्चालन गरिएको थियोे ।
मंगलबारदेखि सुरु भएको शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, जनरल फिजिसियन, छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै सुगर, रक्तचाप र थाइराइड परीक्षण, रगत, दिसा, पिसाब र खकार परीक्षणका साथै निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
दुई दिनसम्म सञ्चालन भएको शिविरबाट ३७४ जना महिला र २२७ जना पुरुष गरी जम्मा ६०१ जनाले स्वास्थ्य सेवा लिएका थिए स्वास्थ्य परीक्षणका क्रममा ७ जनामा पाठेघरको मुखको क्यान्सरका सम्भावित लक्षण देखिएको जनाइएको छ।
त्यसैगरी ३० वर्षभन्दा माथिका धेरै व्यक्तिहरूमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको छ भने कृषि पेशामा संलग्न व्यक्तिहरूमा हड्डी खिइने समस्या बढी पाइएको सूचना अधिकारी प्याकुरेलले जानकारी दिनुभयो। परीक्षणकै क्रममा हृदयघातको सम्भावना देखिएका एक जना बिरामीलाई तत्काल थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी गरी २१ जनाको टोलीले सेवा प्रदान गरेको थियो। गाउँपालिकाले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्य पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ।![]()







