रामेछाप नगरपालिकाको प्राङ्गणमा माइती नेपालद्वारा जनचेतनामूलक नाटक प्रदर्शन,

२०८२ पुष १० गते, बिहीबार

रामेछाप ।

रामेछाप नगरपालिकाको प्राङ्गण मा आज (बिहीबार) माइती नेपाल, काठमाडौंको आयोजनामा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियोे ।

मानव बेचबिखन, वैदेशिक रोजगारीका जोखिम, सामाजिक सञ्जालको दुरुपयोग तथा महिलामाथि हुने सामाजिक विभेदजस्ता विषयमा आधारित नाटकहरू माइती नेपालबाट आएका ३२ जना कलाकारहरूले प्रस्तुत गरेका थिए।

नाटकमा पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण केटीहरू पढाइ छोडेर अपरिचित व्यक्तिको प्रलोभनमा परी विदेश जाने, अवैधानिक बाटो प्रयोग गर्दा ठगी तथा मानव बेचबिखनको सिकार हुने जोखिमलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।

विदेश जानका लागि जहिले पनि नेपालकै आधिकारिक विमानस्थलबाट जानुपर्ने, अन्य बाटो अपनाउँदा गम्भीर जोखिम हुने, विदेश पुगेपछि इज्जत र अधिकार बेच्न बाध्य हुनुपर्ने अवस्थालाई नाटकमार्फत सशक्त ढंगले देखाइएको थियो।
त्यसैगरी नाटकमा एकल महिलालाई समाजले हेर्ने फरक दृष्टिकोण, उनीहरूले भोग्नुपर्ने मानसिक, सामाजिक तथा आर्थिक चुनौतीहरूलाई समेत उजागर गरिएको थियो। यस्ता विषयले दर्शकहरूलाई गहिरो सोच्न बाध्य बनाएको थियो।

कार्यक्रममा रामेछाप नगरपालिकाका नगर प्रमुख लब श्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की थापा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंलगायतको उपस्थिति रहेको थियो। साथै महिला तथा बालबालिका शाखाकी बिमला शर्मा र सरिता बुढाथोकी, जिन्सी प्रमुख घना श्रेष्ठ, RBPW का महिला सदस्यहरू, स्थानीय पत्रकारहरू तथा बिहीबार हटियामा आएका विभिन्न आमा, बुबा, दाजुभाइहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले मानव बेचबिखन र सामाजिक विकृतिविरुद्ध स्थानीय तह, समुदाय र परिवार सबै मिलेर काम गर्नुपर्ने आवश्यकता बताउनुभयो भने उपप्रमुख थापाले यस्ता जनचेतनामूलक नाटकहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो सहयोग पुर्‍याउने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले मानव बेचबिखन तथा असुरक्षित वैदेशिक रोजगारी आजको गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै सचेतना नै यसको प्रमुख समाधान भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरूले नागरिकलाई सही सूचना दिने, जोखिम पहिचान गर्न सिकाउने र सुरक्षित निर्णय लिन सहयोग पुर्‍याउने भएकाले नगरपालिकाले यस्ता अभियानलाई सधैं साथ दिने प्रतिबद्धता गर्नुभयो ।

माइती नेपाल,नेपालमा मानव बेचबिखन, हिंसा तथा शोषणविरुद्ध लामो समयदेखि सक्रिय संस्था हो। यस संस्थाले जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण, पुनःस्थापना, कानुनी सहायता, मनोसामाजिक परामर्श, सीपमूलक तालिम तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सुरक्षित उपाय, सीमा नाकामा निगरानी र विद्यालय तथा समुदायमा सचेतना फैलाउने काममा माइती नेपाल अग्रपंक्तिमा रहँदै आएको छ।

रामेछापमा आयोजित यो जनचेतनामूलक नाटकले स्थानीय समुदायलाई मानव बेचबिखन, ठगी र सामाजिक कुरीतिविरुद्ध सचेत बनाउने विश्वास लिइएको छ। आयोजकले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएका छन्।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon