घना माया श्रेष्ठ पुन अध्यक्षमा चयन, पारदर्शिता र सुशासनमा जोड,

२०८२ पुष १९ गते, शनिबार

रामेछाप ।

रामेछाप नगरपालिकामा रहेको राष्ट्र सेवक कर्मचारी सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष घना माया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारणसभामा रामेछाप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाकाे प्रमुख अतिथिमा भएको थियो ।
कार्यक्रममा सहकारी संस्थाकी उपाध्यक्ष शान्तादेवी ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। यस्तै, संस्थाका सचिव दीपककुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष नारायणकुमार कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन रामशरण पौडेलले प्रस्तुत गर्नुभएको थियो।

साधारणसभामा सहकारीको वित्तीय अवस्था, सदस्य सेवाहरू, बचत तथा ऋण प्रवाहको अवस्था र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। छोटो अवधिमै सहकारीले हासिल गरेको प्रगतिप्रति सहभागीहरूले सन्तुष्टि व्यक्त गरेका थिए।

कार्यक्रममा असल बचतकर्ता, असल ऋणकर्ता तथा अधिक शेयरकर्तालाई सम्मान गरिएको थियो। साथै, सहकारी संस्थाले १५ थान हर्किस (भाडा सामग्री) को चिठ्ठा प्रणालीमार्फत भाग्यशाली सदस्यहरूलाई वितरण गरेको थियो। सहकारीसम्बन्धी प्रश्नोत्तर (क्विज) प्रतियोगिता समेत आयोजना गरी सही उत्तर दिने सदस्यहरूलाई पुरस्कार प्रदान गरिएको थियोे ।

शुभकामना मन्तव्य व्यक्त गर्दै उषा रायले सहकारीप्रति सबै सदस्य सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा समय दिन सक्नेले समय र आर्थिक सहयोग गर्न सक्नेले सियर बढाएर सहकारी संस्था लाइ अझै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, देवबहादुर श्रेष्ठले दोस्रो निर्वाचन मण्डल अन्तर्गत रामेछाप नगरपालिकाभर कार्यरत कर्मचारीहरूलाई सहकारीमा आवद्ध गराउँदै यहाँसम्म ल्याइएको उल्लेख गर्नुभयो। वार्षिक प्रतिवेदनले सहकारीप्रति थप विश्वास बढाएको बताउँदै पाँच वर्षको अवधिमा उल्लेखनीय प्रगति भएको र आगामी दिनमा अझ राम्रो गर्ने आशा व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि होमबहादुर थापाले सहकारी संस्थाहरूले स्थानीय स्तरमा बचत संकलन र ऋण प्रवाहमार्फत आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले सहकारीको दिगो विकासका लागि पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवामा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

अधिवेशनले संस्थाको नेतृत्वलाई निरन्तरता दिँदै अध्यक्ष पदमा घना माया श्रेष्ठलाई निर्बिरोध रूपमा पुन,चयन गरेको छ। साथै, ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ भने रामशरण पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon